धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गाेविन्दराज बोहराले मृत्युपछि अङ्गदान गर्ने घोषणा गरेका छन्। धनगढीमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ)बाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले साे घाेषणा गरेका हुन् ।
कार्यक्रममा सामाजिक विकासमन्त्री बोहराले सेती अस्पतालमा अङ्गदान र प्रत्यारोपणको व्यवस्था गर्न प्रदेश सरकारले विशेष योजना सहितको बजेट उपलब्ध गराउने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले “मान्छेको मृत्यु हुँदा उसका दुई मिर्गौला, दुई फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, प्याङ्क्रियाज गरेर आठ वटा अङ्ग काम लाग्ने भएकाले ती अङ्ग खेर जान नदिनतर्फ पनि सचेत हुनुपर्छ” बताएका थिए ।
उक्त कार्यक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आगामी एक वर्षभित्र मिर्गौला प्रत्यारोपण सेवा सुचारु गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र सेती प्रादेशिक अस्पतालबीच सम्झौता भएको छ ।