घर बगाएकाे १९ वर्षपछि शीर्षका बाढीपीडितले पाए घर

डडेल्धुरा । भित्री मधेशको परशुराम नगरपालिका २ र ३ शीर्षगाउँमा बाढीले घर जमिन बगाएको १९ वर्षपछि पीडितले घरमा बस्न पाएका छन्। २०६२ सालको बर्खामा आएको बाढीले पूर्ण रूपमा विस्थापित ३२ घरपरिवारलाई नेपाल सरकारले नयाँ स्थानमा जग्गा खरिद गरेर घर बनाइदिएपछि पीडितले घरभित्र बस्न पाउनुभएका हुन्। 

बाढीले बगाउँदा शीर्षगाउँमा ३२ जनाको ज्यान गएको थियो भने ३५ परिवार पूर्ण रूपमा विस्थापित भएका थिए। हाल परशुराम नगरपालिका–४ को रातामाटी र ५ को परीगाउँमा पीडितका लागि घर बनाइएका छन्। एक परिवारलाई एक रोपनीसम्म जग्गा उपलब्ध गराई दुई कोठे घर निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका इन्जिनियर स्मारिका बमले जानकारी दिए। उनका अनुसार एक परिवारलाई चार लाख रुपियाँका दरले घर बनाइएको हो।

घर निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा करिब एक करोड रुपियाँको लागतमा जग्गा खरिद गरिएको थियो। बाढीपीडितलाई परीगाउँ र रातामाटीमा एकीकृत बस्ती बनाइएको छ। रातामाटीमा एकीकृत बस्तीभित्र सडक, विद्यालय, खानेपानी र शौचालयको प्रबन्ध मिलाइन लागेको इन्जिनियर बमले बताए ।

पहिलो चरणमा गत आर्थिक वर्षमा ३२ वटा घर निर्माणका लागि रकम प्राप्त भएपछि निर्माण थालिएको उहाँले बताउदै उनले बाँकी रहेकाका लागि यस वर्ष पनि रकम आएको छ। इन्जिनियर बमले भने, “यस वर्ष पनि घर निर्माणलगायतका आवश्यक भौतिक पूर्वाधरका काम हुने भएका छन्।”

बाढीले घरजमिन बगाएपछि उनीहरू जङ्गल तथा आसपासको जमिनमा टहरा बनाएर बस्दै आएका थिए। खरको छानो, त्रिपाल एवं जस्तापाताको छानो बनाई गुजरा गर्दै आउनुआएको वडा नम्बर २ का वडाध्यक्ष रमेशबहादुर बोहराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.