‘मौलिकता हराउदै जाँदा तीज पटक्कै मन पर्न छोड्यो…’

बागलुङ। “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमकाबाहेक अरु छैनन् ।”

ढोरपाटन नगरपालिका–२ का ६६ वर्षीया सीता शर्मालाई अहिलेको तीज पटक्कै मन पर्न छोड्यो। उनलाई तीज मन नपर्नुको कारण हो मौलिकता हराउनु । उनी भन्छिन्, “अहिले मौलिकता भन्ने छँदैछैन, गीत पनि विदेशी, पहिरन पनि विदेशी, हुँदाहुँदा यहाँका मान्छे आफ्नो पहिचान भुलेर विदेशीजस्तै बने, पहिले तीज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छे सबै स्वार्थी भए, आफ्नो धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए।”

उनले जमानासँगै संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेकामा चिन्ता व्यक्त गरिन्। उनले पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताइन्। दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महँगा–महँगा परिकार खाने गरेको उनको भनाइ छ।

“हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तीजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तीज आउन १५/२० दिन छँदै दरखाने भनेर ठूल्ठुला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैँसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ”, उनले भनिन्, “अहिले त दरखान तीज आउनुभन्दा १५ दिन अगाडिनै सुरु गर्छन्, दरमा न दही, न केरा, नर खिर हुन्छ ।”

महिलामा तीज पर्वको छुट्टै रौनक र उत्साह हुन्छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदनापोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई। पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो छ। यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ।

यस पर्वले महिलामा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ ऊर्जाको सञ्चार गराउने कार्यसमेत गर्दछ।  पछिल्लो केही समय यता तीज पर्व हिन्दू संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बूढापाका बताउँछन् । तीजपर्वले महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभई, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्ने उनीहरुको भनाइ छ ।

“चाडपर्वलाई मौलिकरुपमै मनाउनुपर्छ, पहिलेपहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रतसमेत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ, चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिको निरुत्साहित गर्नुपर्छ, यसप्रति सरकारले पनि ध्यान दिनुपर्छ,” उनले भनिन्, “ सरकाले चाडपर्वलाई भड्किलोरुपमै मनाउन दिने हो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन् ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.