धनगढी । साउनको अन्तिम सोमबार आज भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ। धनगढीको शिवपुरीधाम, काठमाडौंको पाशुपत क्षेत्र, गोकर्णेश्वर,ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुलीको कुशेश्वर लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई भनिएको छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ।
यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उनी खुशी हुन्छन् र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास छ।