धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप दुईसय शय्या थप्ने भएकाे छ । अस्पतालमा आधुनिक बहुतले (१० तले) भवन बनाउन डिपीआर तयार पारेकाे प्रदेश सरकार मन्त्रीपरिषद बैठकले दुईसय शय्या थप्ने र थप तीनसय शय्या थपिदिन सघीय सरकारलाई आग्रह गरेकाे छ ।
नेपाल सरकारबाट ५० शय्या र अस्पताल विकास समितिबाट ७५ शय्यासहित १ सय २५ शय्या स्वीकृत क्षमतामा सञ्चालनमा रहेको सेती प्रादेशिक अस्पतालाई ३ सय ५० शय्याको बनाउन प्रस्ताव गरिएको थियाे । प्रदेश सरकारले नीतिगत निर्णय गरी ३ सय ५० शय्याको अस्पतालको मान्यता दिएर बजेट व्यवस्थापन गरे सेवा प्रवाहमा निकै सहज हुने अस्पतालले जनाएको थियाे।
२०४१ सालमा नेपाल सरकारको स्वीकृत दरबन्दीअनुसार सेती प्रादेशिक अस्पतालको क्षमता ५० शय्याको मात्रै हो। तर, बिरामीको चाप बढेसँगै अस्पताल विकास समितिले २०६० मा ७५ शय्या थप गरेर अहिले सेती अस्पतालमा स्वीकृत शय्या संख्या एकसय २५ मात्रै छ। अस्पतालले आएका बिरामीको उपचार गर्नैपर्ने भएकोले ३ सय ५० हाराहारीमा शय्या संख्या थपेर बिरामीको उपचार गर्ने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।
ऐन कानून तथा विधेयक बनाउनमा सबै प्रदेश भन्दा अगाडी देखिएकाे सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ब्यवस्था गर्न नयाँ कानून बनाउदै छ । जस अनुसार प्रदेश सरकारकाे आईतवार बसेकाे मन्त्रीपरिषद बैठकले प्रदेश सवारी तथा यातायात ब्यवस्था विधेयककाे मसाैदालाई स्वीकृत गरेकाे हाे ।
बैठकका निर्णयबारे जानकारी दिंदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशमा आधुनिक र बैज्ञानिक तवरले सवारी तथा यातायात ब्यवस्था गर्न लागेकाे बताए । उनका अनुसार बैठकले दार्चुला जिल्लास्थित नाैगाड गाउँपालिकाकाे वडा विभाजन सम्बन्धमा छलफल गरेकाे र गाउँकार्यपालिकाकाे निर्णयलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।
यस्तै बैठकले कानून सुधार तथा सुझाव समितिका सदस्य नियुक्ति गर्ने र सभामुख अर्जुनवहादुर थापा लगायतका आधा दर्जन संसदहरुकाे उपचार खर्च वाफतकाे रकम भुक्तानी दिने निर्णय गरेकाे छ ।