धनगढी । पछिल्लाे समय सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दैनिक रुपमा बढ्न थाले पनि अहिलेसम्म संक्रमितमा धेरै जटिल खालका समस्या नदेखिएको बताइएकाे छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले कोरोना संक्रमणको दर फेरि बढ्न थालेको बताए । उनले भने- ‘तर हामी कहाँ आइरहेका केसहरु हेर्दा पहिले जस्तो कोभिड निमोनिया, श्वासप्रश्वास सम्बन्धी धेरै जटिलता भएको देखिएको छैन।’ डा. शर्माले भने, ‘अधिकांश व्यक्तिले भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको र मानिसमा रोग प्रतिरोधी क्षमता विकास भएर पनि हुनसक्छ ।’
उपचारका लागि अस्पताल पुग्ने अधिकांश रुघाखोकी, स्वर परिवर्तन हुने, शरीर दुःख्ने, झाडापाखाला हुने, खान मन नलाग्ने लक्षण भएका बिरामीहरुमा संक्रमण देखिरहेको बताउँदै शर्माले छिटफुट रुपमा केही व्यक्तिहरु निमोनिया र श्वासप्रश्वासको समस्या लिएर पनि आइरहेको जनाए । यस्ता खालका लक्षण देखिएमा जथाभावी औषधी सेवन नगरी चिकित्सकको सल्लाह लिन उनकाे आग्रह छ।