काठमाडौं । हतियारबद्ध राजनीति छाेडेर खुल्ला राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका आधादर्जनबढी नेताविरुद्ध जिल्ला अदालतले ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालत ललितपुरले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। विप्लवसँगै नेकापाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउनेलगायतका नेता–कार्यकर्ताविरुद्ध पनि जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी काटेको छ।
३५ दिनभित्र अदालतमा उपस्थित हुन उनीहरूलाई भनिएको छ। अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ । मुद्दा खारेजी र जेल परेका कार्यकर्ता रिहाई माग तत्कालिन प्रधानमन्त्रीसँग राखेर खुल्ला राजनीतिमा आएकाे उक्त समुहका नेता बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि देशभर खैलाबैला मच्चिएकाे साे पार्टीका एक नेताले बताएका छन् ।