सुदूरपश्चिममा काेराेना बढ्दै, के गर्दैछ सरकार ?

धनगढी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो ।

हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । सीमा जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको उनले बताए । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरि परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको उनले बताए। उनले भने, “जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा एक एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदैछन् ।”

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररुपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.