धनगढी । कैलालीकाे गाेदावरी नगरपालिकामा बन्दै गरेकाे गेटा मेडिकल कलेजमा सुदूरपश्चिम प्रदेश सरकार साझेदारी गर्न तयार रहेकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले बताएका छन् । बिहीवार बिहान निर्माणाधिन गेटा मेडिकल कलेजको अनुगमन गरे पश्चात साे कुरा बताएका हुन् ।
शिक्षा स्वास्थ्य लगायका क्षेत्र हेर्ने प्रदेशकाे सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई साथमा लिएर अनुगमनमा पुगेका मुख्यमन्त्री भट्टले संघीय सरकारले प्रदेश सरकारलाई मिलाएर सञ्चालन गर्दा आफ्नाेत्व बाेध हुने र रेखदेख गर्न सजिलाे हुने बताए । अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले कलेजका भित्री संरचना विद्युत, खानेपानी, ढल निकास चाडै तयार गर्न त्यहाँ कार्यरत इन्जिनियलाई निर्देशन दिएको अस्पताल निर्देशक डाक्टर प्रमोद जोशीले बताए।
बहुचर्चित गेटा मेडिकल कलेजकाे भौतिक निर्माण झण्डै ९८ प्रतिशत प्रगति भएको दाबी गरिएको छ । करिव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यस कलेज निर्माण कार्य सुरु भएदेखि हालसम्म भौतिक संरचना निर्माण गर्न २ अर्ब ६६ करोड खर्च भैसकेको छ। भौतिक संरचना निर्माणको करिब अन्त्यतिर पुगेपनि सञ्चालनको प्रारुपबारे भने अझै टुङ्गो लाग्न सकेको छैन।
मेडिकल कलेजको नामले निर्माण थालिएको गेटा मेडिकल कलेज बन्दै गर्दा कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विश्वविद्यालय बनाउनुपर्ने बहस सुरु भएको छ। पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा वर्षौअघि स्थापना भएर पनि आफ्नो सेवा र दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको प्रारुपमा गेटामा स्वास्थ्य शिक्षाको संस्था सञ्चालन गरिनु सान्दर्भिक नहुने तर्क केही प्राज्ञिकहरुकाे छ ।
प्राज्ञिक जग बलियो बनाउन र संस्थालाई आत्मनिर्भर बनाई जनसमुदायको स्वास्थ्यका सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने उच्चस्तरको केन्द्रका रुपमा गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्नेमा उनीहरुकाे जोड छ।