बैतडी । बैतडीको मेलौली नगरपालिकाले सेवाग्राहीकाे घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। मेलौलीमा रहेको एनसीसी बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका हुन्।
भौगोलिक बिकटता र वर्षादको समयमा बैंकमा पुगेर भत्ता लिन असहज हुने भएकाले गाउँमै पुगेर भत्ता दिने व्यवस्था मिलाइएको मेलौली नगरपालिकाका मेयर भीम बहादुर चन्द “भुकम्प” ले बताए । सोही क्रममा नगर प्रमुख चन्द आफैँ विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन ।
नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताए । वृद्धवृद्धा, असक्त, अपाङ्गहरूलाई भत्ता लिन असहज होस भन्ने उद्देश्यले यस्तो निर्णय गरेको बताइएको छ। गाउँमा नै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम भदौ ३ गतेसम्म जारी रहने छ।