अपहरण गरेर ७ लाख माग्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा उनीहरू समातिएका हुन् ।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी २५ वर्षीय सुकलाल विक, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ९ निवासी २० वर्षीय मनोज थारु र गाडी चालक प्युठान जिल्ला घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरीले अपहरणमा संलग्न बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । सुनियोजित रुपमा दैलेख घर भएका केशवलाई बुटवलमा भेट्न बोलाउनका लागि उक्त समूहले निर्मलालाई प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख काफ्लेले बताए ।
अनुसन्धानका क्रममा पक्राउका परेका मध्ये सुकलाल, मनोज र केशव साउदीमा सँगै बसेको र लेनदेनको कुरा भएकाले त्यो नमिलेपछि अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रमुख काफ्लेले बताए । विदेशमा रहेको हिसाब मिलाउनका लागि सुकलाल र मनोजले केशवलाई अपहरणको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।