धनगढी । कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय मोडालिटीमा संचालन गर्न संघिय संसदको शिक्षा तथा स्वास्थ्य समिति सकारात्मक देखिएको छ । आइतबार समितिले अत्तरियामा गरेको अन्तरक्रिया कार्यक्रममा समितिका ६ जना सांसदहरुले मेडिकल विश्वविद्यालय बनाउनको लागि आफूहरु सकारात्मक रहेकाे र सोही बिषयलाई ड्राफ्ट गरेर सरकारलाई बुझाउने बताएका हुन ।
कार्यक्रमको अध्यक्षता गरेका सांसद मानबहादुर विश्वकर्माले मेडिकल विश्वविद्यालय बनाउने कुरा सुदूरपश्चिमका लागि मात्रै नभएर देशकै लागि खुसिको कुरा भएका बताए । ‘मेडिकल विश्वविद्यालय बनाउने अभियानमा हामीले कुन ठाउँबाट कसरी बोल्ने हो । मन्त्रालय प्रधानमन्त्री सबैलाई यस क्षेत्रका माग जस्ताको त्यस्तै राख्ने छौ’ उनले भने ‘नेपालमै अहिले सम्म मेडिकल विश्वविद्यालय छैन । यस क्षेत्रमा मेडिकल विश्वविद्यालय स्थापना भएमा नेपालकै लागि यो नयाँ ईतिहास हुने छ ।’
सांसद चित्रलेखा यादव, अञ्जना विशंखे, दिपक भट्ट, नविना लामाले यस क्षेत्रमा मेडिकलको सम्भावनाको बारेमा जानकारी लिनका लागि आफूहरु सुदूरपश्चिममा आएको बताए । उनीहरुले गेटामा तिब्र गतिमा भौतिक संरचना निर्माण भएकोमा आफू निकै उत्साहित भएको समेत बताईन । सांसद नारदमुनी रानाले आफूहरुले गेटामा मेडिकल विश्वविद्यालय बनाउन निरन्तर आवाज उठाइरहेको बताए । उनले लगातार आश्वासन पाएपनि अहिले सम्म यसको मोडालिटीका बारेमा टुङ्गो लाग्न नसकेको बताए ।
सांसद योगेस भट्टराईले गेटामा छिटो भौतिक संरचनाको काम सकेर छिटो भन्दा छिटो संचालनको लागि आफूहरु अनुगमनमा आएको बताए । उनले गेटामा मेडिकल कलेज संचालनमा आए यसले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने बताए ।