सेती प्रादेशिक अस्पतालद्वारा सेवा विस्तार भएपछि बिरामीलाई सहज
धनगढी । बिरामीकाे चापाचाप रहने धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लाे समय उपचार सेवाहरु विस्तार भएका छन् । असारदेखि मानसिक उपचार सेवा सुरु गरेकाे अस्पतालले डायलाइसिस र आइसियू सेवा पनि थप गरेको छ। यस्तै सिटी स्क्यान र एमआरआई जडान भइरहेको छ।
अस्पतालले साधारणतर्फ १० शय्या थप गर्दै १५ शय्याको आइसियू र १२ शय्याको डायलाइसिस सेवा बिस्तार गरेको छ। यसअघि अस्पतालमा १० शय्याको डायलाइसिस सेवा सञ्चालनमा रहेकोमा अब अस्पतालमा २२ शय्या डायलाइसिसका लागि तयार भएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। अस्पतालमा जनरलतर्फ १० शय्या आइसियू पनि थप गरेका छौँ,’ उनले भने, ‘डायलाइसिसमा आकस्मिक सेवा सेवाका लागि थप दुई मसिन राखेका छौँ। अब एचआइभी र हेपाटाइटिसका बिरामीका बिरामीलाई डायलाइसिस गर्न समस्या हुन्न।’
सेती प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मानसिक रोगको बहिरङ्ग सेवा सुरू गरेको छ। अस्पतालले दुई शय्या मानसिक रोगका बिरामीको लागि छुट्याएको छ। यसैगरी सेती अस्पतालमा एमआरआई र सिटिस्क्यान जडान भइरहेको छ। बिरामीको निकै चाप रहने भएकोले अस्पतालमा अपरान्ह ३ बजेपछि पनि बहिरङ्ग सेवा प्रदान गर्ने तयारी थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।
‘सेतीमा जुनजुन बिरामीको चाप बढी हुन्छ त्यो विभागमा अतिरिक्त समयमा बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘साउन १ गतेदेखि अपराह्न ३ बजेपछि पनि ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ।’ सेती प्रादेशिक अस्पतालमा सस्तो र सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिमा हरेका वर्ष बजेट विनियाेजन गरिरहेकाे मुख्यमन्त्री भट्टकाे सचिवालयले जनाएकाे छ ।
अस्पतालद्वारा सेवा विस्तार भएपछि बिरामीलाई केही सहज भएपनि पालाे कुर्नुपर्ने अस्तव्यस्तता भने उस्तै रहेकाे सेवाग्राहीकाे गुनासाे छ ।