मोहन्याल गाउँपालिका जनप्रतिनिधि र कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

धनगढी । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ। गाउँपालिका अध्यक्ष स्वर्गीय नवलसिंह रावल, उपाध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत तथा निर्माण व्यवसायीसमेत १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगाइएको हो।

आयाेगका अनुसार मोहन्याल गाउँपालिका भएर बग्ने खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो। तर मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको र अनुसन्धान गर्दा पुष्टि भएपछि मुद्धा लगाइएको हाे।

कार्यबाहक अध्यक्ष बुढामगर, वडा अध्यक्षहरु देवीदत्त उपाध्याय, नविन पुनमगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी, नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

उनीहरुले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी ५४ लाख १८ हजार ५६८ रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.