धनगढी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले सुदूरपश्चिम प्रदेशमा ९ हजार ९३७ जना म्यादी प्रहरी माग गरेकाे थियो। तर त्यसको झण्डै तीन गुणा बढी २९ हजार ६८२ जनाले आवेदन दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
ती मध्ये सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन्। कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ।साेचे भन्दा धेरै बढी दरखास्त परेपछि छनाैंट गर्न नै सकस परेकाे एक प्रहरी अधिकृतले बताएका छन् ।
उता कञ्चनपुरमा १ हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा ५ हजार ९३५ जनाको आवेदन परेको प्रहरी कार्यालयले जनाएको छ। यस्तै डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीका लागि निवेदन दिएका छन्। त्यसैगरी बझाङमा १ हजार ६५६ जना, बैतडीमा २ हजार २४ जना, डडेल्धुरामा १ हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाले आवेदन दिएका छन्।