हिमपातले अवरुद्ध राजमार्ग नेपाली सेनाले खुलायो

बैतडी । हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ। सेनाले हिउँ पन्छाएपछि बिहीबारदेखि अवरुद्ध सतबाँझ–गोठलापानी खडकखण्ड शुक्रबार मध्याह्नपछि खुलेको हो।

उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। राजमार्ग खुलाउन बिहानैदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो।

हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतिर लागेको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए। सतबाँझ–गोठलापानी सडकखण्ड सञ्चालनमा आए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

यहाँको अनारखोली, खोडपे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो।हिउँ पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आएको दशरथचन्द राजमार्ग अझै अवरुद्ध हुने सम्भावना रहेको छ।बिहीबार दिउँसोदेखि बन्द रहेका राजमार्ग बन्द हुँदा यात्रु अलपत्र परेका छन्।

काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधनबीच बाटोमै रोकिएका छन्। वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ। यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो। रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.