ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनामै दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद मुनाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको सो बैंकको खुद मुनाफामा गत बर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतको वृद्धि देखिएको हो ।
खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण ग्लोबल आईएमईको नाफा बढेको देखिन्छ । दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.६९ प्रतिशत बढेको छ। त्यस्तै, सञ्चालन मुनाफा १३.५७ प्रतिशत बढेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४८ करोड ५६ लाख रुपियाँ रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। बैंकको यस्तो आम्दानी २१.४० रुपियाँबाट बढेर २२.३९ रुपियाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपियाँ ९७ पैसा रहेको छ।
समीक्षा अवधिमा ग्लोबल आईएमईको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको वित्तीय विवरणमा देखिन्छ ।