डुबान समस्या समाधानको माग गर्दै धनगढी उपमहानगरपालिका घेराउ

धनगढी । डुबान हुने समस्या समाधानको माग गर्दै धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरिएको छ। मंगलवार वडा नम्बर ३ का स्थानीय बासिन्दाले उप–महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

उनीहरुले मोहनापुल–अत्तरिया ६ लेन सडकका कल्भर्टहरु बन्द गरिएकाले वडा नम्बर ३ मा डुबानको समस्या झनै विकराल बन्ने भन्दै उपमहानगरपालिका घेराउ गरेको बताए। ‘नेश्नल ट्रेडिङ अगाडि रहेको कल्भर्ट थुनिएको छ,’ संघर्ष समितिका अध्यक्ष जयबहादुर थापाले भने, ‘हाम्रो विशालनगरमा अझ बढी डुबान हुने देखिएको छ। कात्तिकको वर्षामा पनि डुबान भएको थियो। मेयर सा’पले असोजदेखि समाधान गर्छु भन्नुभएको थियो। तर अझै भएको छैन।’

उनका अनुसार वडा नम्बर ३ का ४ सय १६ घरधुरी डुबानमा पर्दै अएका छैन। वडा नम्बर ३ बाट वडा नम्बर २ र ४ मा बग्ने पानीको निकास बन्द भएका र नयाँ संरचना निर्माण भएकाले डुबानको समस्या झनै बढेको उनले बताए।  थापाले भने, ‘चार सय १६ घरधुरीको दस्ताबेज उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासनमा दिएका छौं। २०२१ सालको नापीको नक्सा चाहियो भन्नुभयो। त्यो पनि दिएका छाैं। २०२१ सालको नापीमा भएका खोला, कुलो, बाटाहरुको पनि विवरण दिएका छौ। तर उपमहानगरपालिकाले कुनै वास्ता गरेको छैन।’

मोहनापुल–अत्तरिया ६ लेन सडकमा रहेका सबैजसो कल्भर्टहरु प्रयोगविहीन छन्। पानीको निकास हुने नेश्नल ट्रेडिङ अगाडिको कल्भर्टको दक्षिणतर्फको जग्गामा पर्खाल निर्माण भएसँगै त्यो ठाउँबाट हुने पानी निकास पनि बन्द भएको छ। मित्रनगरका स्थानीयहरुले खोला र नालाहरु बिक्री गरिएकाले डुबानको समस्या हुँदै आएको बताएका छन्। टोलको पानी निकास नभएकाले प्रत्येक वर्ष डुबान हुँदै आएको स्थानीय सत्य सुनारले बताइन्। उनले भनिन्, ‘आज/आज, भोलि/भोलि भन्दा पनि अझै डुबानको समस्या समाधान भएको छैन। काम सुरु समेत भएको छैन। ६ गतेसम्म रोक भनेका छन्। ६ गतेसम्म पनि कुनै काम सुरु नभए उपमहानगरपालिकामा ताला लगाउछौ।’

पानीको निकासका लागि बनाइएका कल्भर्ट बन्द भएसँगै विशालनगरवासी थप चिन्तित भएका वडाध्यक्ष बलबहादुर ऐरले बताए। ‘वडा नम्बर ३ मा प्रत्येक वर्ष डुबान हुँदै आएको छ। डुबान समस्या समाधानका लागि नेतुवा ताल र भन्सार क्षेत्रमा दुई योजना छन्। तर काम भएको छैन’ उनले भने।

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पानी बग्ने कल्भर्ट बनाइएको भए पनि कल्भर्टसँग जोडिएका नालाको जग्गा धनगढी नगर विकास समितले २०४८ सालदेखि विभिन्न मितिमा व्यक्तिको नाममा दर्ता गरिएको छ। सोही कारण ती कल्भर्ट कुवामा परिणत भएका छन्। उता सडक विभागले भने विमानस्थल जाने सडकदेखि ६ लेन सडकमा दुवैतर्फ नाली बनाउने बताएको छ। उक्त योजना अनुसार अहिले सर्भे गर्ने काम सकिएको बताइएको छ। सम्भार दिनेश खबर

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.