धनगढी । सुदूरपश्चिम प्रदेशका बझाङ बाहेकका ८ जिल्लामा जारी जिल्ला महाधिवेशनबाट एमालेले सहमतिमै नयाँ नेतृत्व चयनको कसरत थालेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, अछाम र बाजुरा जिल्लामा सहमतिमै नेतृत्व चयनको तयारी थालिएको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले बताए।
‘सबै जिल्लामा सहमतिबाट नेतृत्व चयनका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले पार्टीलाई बलियो बनाउनुपर्ने अवस्था छ, त्यसैले पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्छ।’ सहमतिमै नेतृत्व चयनका लागि नेताहरुले छलफल गरिरहेका छन्। तर, केही जिल्लाहरुमा भने सहमतिमै नेतृत्व चयन गर्न नसकिने देखिएको छ। पदाधिकारीका आकांक्षी धेरै हुँदा नेतृत्व चयनमा सकस भएको हो।
अहिलेसम्म कैलालीमा नेतृत्व चयनमा बढी सकस रहेको बताइएको छ। सहमति नभए कैलालीमा चुनावबाट नेतृत्ब चयन गरिने नेताहरुले बताएका छन्। कैलालीमा जिल्ला अध्यक्षका लागि तीन जना आकांक्षी छन्।
सुदूरपश्चिमका सबै जिल्लामा शुक्रबार नै अधिवेशन गर्ने कार्यतालिका भएपनि बझाङमा मौसमी खराबीका कारण स्थगित भएको भण्डारीले बताए। मौसममा सुधार आएपछि चाडै अधिवेशन गरिने उनको भनाइ छ।