कैलालीमा युवकको विभत्स हत्या प्रकरणमा एक जना पक्राउ
धनगढी । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको हो। तर प्रहरीले उनकाे नाम सार्वजनिक गरेको छैन।
दासको शव शनिवार दिउँसो अमरावति सामुदायिक वनमा फेला परेको थियो। दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन्। उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेका छन्। उनको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।
उक्त फोन रेकर्ड मृतकी श्रीमतीबाट बरामद भएको प्रहरी स्रोतले जनाएको छ। मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।
मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।