सङ्घीय सरकारले कर्मचारी नपठाएर असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर सङ्घीय सरकारले असहयोग गरेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । बुधवार आफ्नाे निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त गुनासाे गरेका हुन् ।

बाढी पहिरोले आक्रान्त बनेको सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभावका कारण विनियोजन गरिएको बजेट कार्यान्वयन गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘हामीले मृतकका परिवारलाई राहत तथा उद्धारका लागी मन्त्री परिषद्को आकस्मिक बैठकबाट बजेट विनियोजन गयौँ तर अहिलेसम्म खर्च गर्न सकिएको छैन ।’

प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयहरु दुई महिनादेखि सचिव विहीन बनेका छन् । मुख्यमन्त्री कार्यालयमा पनि एक जना प्रमुख सचिव मात्र छन् । उच्चस्तरका कर्मचारी मात्रै होइन अन्य प्राविधिक र सहायक कर्मचारी पनि अभाव भएका कारण प्रभाकारी काम गर्न समस्या भएको प्रदेश सरकारको निष्कर्ष रहेको छ ।

मुख्यमन्त्री भट्टले भने ‘कर्मचारी पुर्तिकालागि विभागीय मन्त्री र नेपाल सरकारका मुख्य सचिवसँग पटक पटक कुरा गरेँ सुनुवाइ भएन, कर्मचारी खटनपटनको अधिकार सङ्घीय सरकारसँग छ, सङ्घीय सरकारले मुख्य कर्मचारी नपठाउँदा हामीलाई असहयोग भएको छ ।’

केन्द्रमा सत्ता गठबन्धको सरकार रहेकै बेला मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले कर्मचारी नपठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । उनले भने ‘ आम नागरिक तथा सञ्चारकर्मीले राजनैतिक नेतृत्वमाथि प्रश्न गर्ने गर्छ तर, कर्मचारी नेतृत्वलाई पनि प्रश्न गर्नुपर्ने आवश्यक छ , निर्णय गर्ने र कार्यान्वयन गर्नेका बिचमा तालमेल भएन भने परिणाम राम्रो आउन सक्दैन ।’

कर्मचारी अभावका कारण दैनिक रूपमा गर्नै पर्ने कामकाज पनि गर्न सकिएको उनकाे गुनासाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.