धनगढीको आगलागी नियन्त्रणमा, समयमा दमकल नआएकाे गुनासाे
धनगढी । धनगढीकाे विशालनगरस्थित २ पसल तथा गाेदाममा भएकाे आगलागी नियन्त्रणमा आएको छ। बुधवार दिउँसाे धनगढी उपमहानगरपालिका ३ विशालनगरका बिष्णुप्रसाद चटौतले सञ्चालन गर्दै आएको बिएमबी सप्लायर्स र भागेश्वर किराना पसलमा आगलागी भएको थियो।
उक्त दुईटै पसल पछाडीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे अनुमान छ। पसल संचालक चटौतका अनुसार गोदामको सामान सबै जलेर नष्ट भएको छ भने दुईवटा सटरमा समेत आगलागी भएको छ। चटौतले आगलागीबाट एक करोड बढीको क्षति भएको बताए। उनले भने, ‘हामीहरु बाहिर काम गरिरहेको अवस्थामा एक्कासी आगो लाग्यो। करोड बढीको सामान खरानी भयो।’
आगो लाग्ने बित्तिकै दमकलका लागि खबर गरेको भए पनि दमकल ढिलो आएको उनको भनाइ छ। समयमै दमकल आएको भए ठुलो क्षति नहुने उनको दाबी छ। यता, प्रहरीले भने क्षतीबारे एकिन विवरण नआएको जनाएको छ।