जनगणनामा निर्धक्क तथ्याङ्क दिउँ : उपमहानिर्देशक रेग्मी
धनगढी । दश वर्षपछि नेपालमा जनगणना शुरु हुदैछ । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराका साथ केन्द्रिय तथ्याङ्क विभाग यतिखेर जनगणनाको तयारीमा जुटेको छ । मिडिया एक्सन नेपालकाे आयाेजनामा शुक्रबार धनगढी आयाेजित मिडिया संबेदनशीलता वर्कसपमा केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले कात्तिक २५ गतेदेखि शुरु हुने राष्ट्रिय जनगणना २०७८ मा निर्धक्ककासाथ आफ्ना तथ्याङ्क दिन आग्रह गरेका छन् ।
उपमहानिर्देशक रेग्मीले तथ्याङ्कले समस्या पत्ता लगाई समस्याकाे समाधान गर्न सहज बनाउने भन्दै नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनगणनाका विषयमा स्पष्ट व्यवस्था गरेकोले तथ्याङ्क गाेप्य रहने बताए । जनगणनाकाे तयारी बारे जानकारी दिंदै उपमहानिर्देशक रेग्मीले भने- ‘पहिलेको जनगणना शिक्षकबाट गरिने भएपनि यसपटक खुल्ला आब्हानबाट गणक छनौट गरिएको छ, सम्वन्धित स्थानीय तहका गणकहरु घर घरमा पुगेर ५५ वटा प्रश्नावलीमार्फत लगत लिनेछन्’ उनले भने- ‘विगतका जनगणनाभन्दा यस पटकको जनगणना राज्य पुनःसंरचनापछि लिने जनगणना भएकाले विशेष महत्व रहेको छ ।’
जनगणनका लागि पहिलो चरणमा सुपरभाइजरहरुले घर घरमा पुगेर सूचीकरण गर्ने काम सम्पन्न गरिसकेका छन् । दोस्रो चरणमा २५ गतेबाट गणकहरु घरमा पुगेर लगत लिने रेग्मीको भनाई छ । विगतका गणनामा परिवारको मात्र गणना गरिदै आए पनि यस पटक घरको समेत गणना गरिने भएको छ । अपाङ्गता, मातृ मृत्युलगायतका विषयलाई लक्षित गर्दै लिइने गणनामा थप १० प्रश्न यस पटक थपिएको उपमहानिर्देशक रेग्मीले बताए । नेपालको जनगणना बोझिलो भएको बताउँदै उनले लामो प्रश्नावलीले सबै कुरा समेटिने भएकाले सोही अनुसारको संयन्त्र तयार गरिएको जानकारी दिए।
उपमहानिर्देशक रेग्मीका अनुसार ७ प्रदेशमा प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरी जनगणनाको काम अघि बढेको छ । राष्ट्रिय जनगणना कार्यक्रमका लागि गणकसँगै नौ हजार सुपरभाइजर अन्य कर्मचारी गरी ५० हजार जनशक्तिको खटिएको रेग्मीले बताए । गत असारदेखि नै जनगणनाको कार्य शुरु हुनुपर्ने भए तापनि कोरोनाका कारण ढिला हुन गएको जनाउदै ३९ हजार गणकहरुद्धारा जनगणनाको कार्य हुने भएको छ ।
जनगणनामा कोही न छुटुन र कोही नदोहोरिउन उद्देश्यका साथ स्थानीयस्तरमा नागरिकलाई विभिन्न माध्यमबाट सूचना गरिएको समेत तथ्याङ्क विभागले जनाएको छ । कोहि कतै छुट्न गएमा ईमेलमार्फत पनि आफ्नो गणना पठाउन सकिने व्यवस्था गरिएको रेग्मीको भनाइ छ । उपमहानिर्देशक रेग्मीले भने ‘यसपटकको जनगणनामा हामीले सूचना प्रविधिको प्रयोगबाट पनि गणना लिने व्यवस्था गरेका छौं ।’
यस्तै तथ्याङ्कविज्ञ विष्णु रेग्मीले सुशासन कायम गर्न, रोजगारीको प्रत्याभूति दिन, आर्थिक क्षेत्रको विकास, भौतिक पूर्वाधार, कृषि, औैधोगिक, सामाजिक, पर्यटन क्षेत्रको विकासका लागि जनगणना महत्पूर्ण रहेको बताए ।