प्रधानमन्त्रीसँग प्रदेश सरकारकाे छलफल: बाढीग्रस्त क्षेत्र घाेषणा गरी पुनर्स्थापना हुनुपर्ने
धनगढी । बाढी पहिराेबाट प्रभावित क्षेत्रकाे निरीक्षणमा आएका प्रधानमन्त्री शेरवहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारले भेटवार्ता गरेकाे छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे नेतृत्वमा भएकाे भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरुकाे सहभागिता रहेकाे थियाे ।
हालैकाे बर्षाले ल्याएकाे बाढी र पहिराेले सुदूरपश्चिम प्रदेशमा ठूलाे धनजनकाे क्षति पुराएकाे र अरबाैंका भाैतिक संरचना ध्वस्त भएकाे जानकारी गराउदै प्रदेश सरकारले प्रधानमन्त्रीसँग ती संरचनाकाे पुनर्निर्माण, रहात र क्षतिपुर्ति तत्काल लागु हुनुपर्ने माग गरेकाे छ । यी सम्पूर्ण कार्यमा तीन तहकै सरकारकाे पहलकदमी हुनेगरी प्रदेश सरकार समन्वय र साझेदारी गर्न तयार रहेकाे बताएकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले जानकारी दिए । देशमै सबै भन्दाबढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई बाढीग्रस्त क्षेत्र घाेषणा गरी पुनर्निमार्ण थालिनुपर्ने प्रदेश सरकारकाे माग थियाे ।
सुदूर आवाजसँगकाे प्रतिकृयामा मुख्यमन्त्री भट्टले भने- ‘यस प्राकृतिक प्रकाेपबाट मृत्यु भएकाकाे परिवारलाई क्षतिपुर्ति, घाईतेकाे नि:शुल्क उपचार, बाढी पहिराेवाट क्षति भएका घर तथा भाैतिक संरचनाकाे पुनर्निर्माण, बिस्थापितकाे पुनर्स्थापना र किसानहरुकाे बालि नाेक्सानीमा रहात, सामुहिक बस्ति निर्माण गरेर पुनर्स्थापन तथा ब्यवस्थापन गर्नुपर्ने भएपनि प्रदेश सरकार साझेदारी गर्न तयार रहेकाेले याेजना बनाएर छिटाे भन्दा छिटाे काम थाल्न भन्याैं, प्रधानमन्त्रीबाट सकारात्मक जफाब आएकाे छ ।’ 