बर्षाले बाढी पहिराेकाे खतरा, सतर्कता अपनाउन प्रशासनकाे आग्रह
धनगढी । आइतबार रातिदेखि डडेल्धुरा, डोटी र आसपासका क्षेत्रमा निकै बर्षा भैइरहेकाेले बाढी पहिराेकाे जाेखिम रहेकाे जनाउदै सतर्कता अपनाउन स्थानीय प्रहरी प्रशासनले आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको छभने, डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन, महाकाली, सेती नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गर्दै सूचना गरेको छ।
यस्तै कैलालीका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ भने पहाडी क्षेत्रमा भइरहेको वर्षाले डुबान, कटान लगायतको जोखि भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नदी तटीय क्षेत्र र डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।