मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो
मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे.१ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा बसमा सवार हाल नाम, थर, वतन नखुलेका ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उपचारको लागि लैजाने क्रममा तथा ३ जनाको नर्सिङहोम नेपालगन्ज र १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १० जनाको नर्सिङहोम नेपालगन्जमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ महतले बताए ।
दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको थियो । दुर्घटना के कति कारणले भएको यकिन खुल्न नसकेपनि ओभर लोडका कारण नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ । ४० जना भन्दा बढी यात्रु बोकेको बसमा पढाइका लागि काठमाडौं, नेपालगञ्ज लगायतका विभिन्न शहरमा गएकाहरू दसैं मनाउन घर फर्किनेहरू थिए ।
दसैंको बेला प्लेनको भाडा बढेको तथा प्लेन नपाउने समस्याका कारण मानिसहरू बसमा कोचाकोच गरेर आउन बाध्य छन् । जसले गर्दा यसरी दुर्घटनाको सिकार भइरहेको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले बताइन् ।