प्रदेश लाेकसेवा आयाेग सुदूरपश्चिम विज्ञापन खोल्ने तयारीमा

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम कर्मचारी भर्नाकाे विज्ञापन खाेल्ने तयारीमा छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेपछि विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि बाटो खुलेको हो।

याे सँगै आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समिति गठन गरेर प्रक्रिया अगाडि बढाएको छ।  ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२/३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ र केही दिनभित्रै विज्ञापन खोल्छाैं ।’

विज्ञापन खोल्नका लागि आवश्यक पूर्वाधार, नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड, पदाधिकारी र कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको उनले जानकारी दिए ।

‘विज्ञापन खोल्नका लागि हामी तयारी अवस्थामा छौँ,’ बोहराले भने, ‘प्रदेश सरकार र स्थानीय तहले रिक्त पदको विवरण बुझाउन बाँकी छ। हामीले त्यो विवरण मागेका छौँ। विवरण पाएपछि केही दिनमै आयोग खुल्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.