
धनगढी । स्थानीय तहहरूले प्लास्टिकका फूल प्रयोगमा प्रतिबन्ध लगाउन थालेपछि प्राकृतिक फूलको बजारसमेत विस्तार हुँदै गएको कैलालीमा पछिल्लो समय व्यावसायिक पुष्प खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। अन्य कृषि उपजको तुलनामा फूलबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित हुन थालेका हुन्।
विशेषगरी प्लास्टिकमुक्त पालिकाका रूपमा रहेको धनगढीमा सयपत्री र मखमली फूलको माग उच्च रहने गरेको छ। धनगढीको यही बजारलाई लक्षित गर्दै युवा कृषक रोशन साउदले यस वर्ष दुई बिघा क्षेत्रफलमा पुष्प खेती गरेकाे बताउद्छन्। धनगढी उपमहानगरपालिका–९, बङ्गरासहित विभिन्न स्थानमा खेती गरेका उनले बारीमा पनि तिहारका लागि फूल तयार भइसकेको बताए।
एक दशकदेखि व्यावसायिक पुष्प खेती गर्दै आएका अर्का कृषक सिताराम चौधरीले यस बर्ष दाेब्बर बढी जमिनमा फूल लगाएका छन् । यस वर्ष भदौदेखि नै सयपत्री फूल बिक्री गरेका उनले प्रतिकेजी एक हजार रुपैयाँसम्ममा सयपत्री बिक्री गर्दै आएका छन्। पुष्प खेतीबाट हुने आम्दानी तिहारमा मात्रै सीमित छैन। विभिन्न सभा, सम्मेलन, सङ्घसंस्थाका अधिवेशन, वार्षिक साधारण सभा तथा महोत्सवमा समेत फूलको माग हुने गरेको छ। यसले पुष्प खेतीलाई मौसमी व्यवसायबाट व्यावसायिक आम्दानीको सम्भावना भएको खेतीका रूपमा स्थापित गर्न थालेको छ।
तिहार नजिकिएसँगै कैलालीका पुष्प किसानको बारीमा सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन्। महिनौँको मेहनतपछि बारीमा फूल फुलेर तयार भएसँगै किसानलाई अहिले फूल टिप्ने र बजार पुर्याउने चटारो सुरु भएको छ।
