धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटका सुकनीदेवी र नन्द सुनिता सहित १४ जना आईतबार च्याउ खोज्न जंगलतिर लागेका थिए । १४ जनाको समूहको मालुमेला पोष्टबाट अघि बढ्यो र च्याउ खोज्न थाल्यो । उनीहरूले नजिकै च्याउ भेटाएनन् । च्याउ नखोजी नफर्किने जोशका साथ अघि बढेका उनीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको धेरै भित्र प्रवेश गरेको चाल नै पाएनन् ।
त्यो बेलासम्म सबैले अलिअलि च्याउ भेटाएका थिए । त्यसपछि उनीहरूले घर फर्किने निधो गरेका थिए । घर फर्किन त खोजे तर, निकुञ्जको धेरै भित्र पुगिसकेका कारण उनीहरूलाई आएको बाटो पत्ता लगाउन गाह्रो भयो । च्याउ खोज्न जाने समूहमा १४ जना भए पनि एक जनाले मात्र मोबाइल बोकेका रहेछन् । त्यसमा पनि सीम कार्ड भने थिएन । जसका कारण मोबाइलमा समय हेर्न बाहेक कसैलाई सञ्चार सम्पर्क गर्न सक्ने अवस्था भएन ।
च्याउ खोज्न जंगल जाने समूहकी एक सदस्य लक्ष्मीदेवी चौधरीका अनुसार उनीहरूले दिउँसोदेखि साँझ पर्दासम्म बाटो पत्ता लगाउने कोसिस गरेका थिए । तर बाटो भेटाउन नसकेपछि घनघोर जंगलमै बास बसे । ‘च्याउ खोज्दाखोज्दै हामी आफैँ जंगलको धेरै भित्र पुगिसकेका रहेछौँ । ३ बजेपछि घर फर्किने योजना बन्यो । तर बाटो नै पत्ता लगाउन सकिएन,’ चौधरीले भनिन्, ‘साँझको ७ बजेर ४७ मिनेटसम्म प्रयास गरेका थियौँ तर सकेनौँ । त्यसपछि जंगलमै बस्नुपर्ने बाध्यता भयो ।’
रात परेपछि उनीहरूले सालको एउटा रुखमुनि ओत लाग्ने निधो गरे । तर त्यही बेला ६ वटा हात्तीको बथान आफूहरू भएकै स्थानतिर आइरहेको देखे । त्यसपछि एकछिन शान्त बसे । हात्तीको बथान आफ्नो बाटो लागेपछि १४ जना नै ओत लाग्ने गरी सालको रुखमुनि बसे । चौधरीका अनुसार सबै जना गोलो घेरा बनाएर बसेका थिए ।
रातभर पानी परिरहेको थियो । त्यो घनघोर जंगलमा उनीहरूसँग भिज्नुको विकल्प थिएन । एकातिर घर परिवारको चिन्ता र अर्कोतिर निकुञ्ज भित्रका जनावरको सिकार बन्ने चिन्ता थियो । आफूलाई भने अढाइ वर्षकी छोरीको चिन्ताले सताइरहेको लक्ष्मीदेवी बताइन् । जंगलमा राति जाग्राम बस्दा उनीहरू किरा र लामखुट्टेको टोकाइ सहन बाध्य थिए । ‘एकातिर घरको चिन्ता भइरहन्थ्यो । अर्कोतिर जंगल जनावरको डर,’ चौधरीले भनिन्, ‘त्यो बेलाको झरीले निथ्रुक्क शरीर भिजेको समेत पत्तो भएन ।’
उज्यालो हुने बित्तिकै सबै जना पुनः घर फर्किन बाटो खोज्नतिर लागे । बिहान साढे ५ बजेदेखि बाटो खोज्दै घरतिर फर्किन हिँडेकाहरुले दिउँसो सवा १२ बजेतिर भने सकुशल घर पुगेका थिए । २५ घण्टासम्म भोक, प्यास नभनी जंगलमै बिताएका उनीहरूलाई खोज्न आइतबार राति ९ बजेदेखि नै सुरक्षाकर्मी परिचालन भइसकेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्पर्कविहीन महिलाहरूको रातभर जंगलमा खोजी गरेको थियो भने सोमबार बिहान उनीहरूलाई सघाउन थप जनशक्ति खटाइएको थियो । तर च्याउ खोज्न जंगल गएका १४ जना नै सकुशल घर फर्किएपछि सुरक्षाकर्मी फिर्ता भएको थियो ।