कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

टीकापुर । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ । केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

पुलमा तस्बिर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिँदै आइएका टीकापुर-५ का किरण चौधरीले “गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ”, यहाँ  “अहिले सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो भैइरहेकाे छ ।” 

“पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौँ”, बर्दियाका राजेश चौधरीले भने, “केही दिनदेखि यहाँ पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेसँगै प्रशस्त आम्दानी पनि भइरहेको छ, अन्यत्र जानु परेको छैन ।”

पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ ।

विसं २०८४ असार ११ गतेसम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.