जनक भणडारी

मनको शुद्धता आजको समयमा धर्मको नाममा गरिने यात्रा व्यापक छन्। मानिसहरू चारधाम, शक्तिपीठ, गङ्गाघाट वा अन्य पवित्र स्थलहरूमा जान चाहन्छन्। लाखौं रुपैयाँ खर्च गरेर हजारौं किलोमिटरको यात्रा गर्छन्। तर प्रश्न उठ्छ—के यस्ता यात्रा वास्तवमै आध्यात्मिक उद्देश्यले प्रेरित छन्, कि केवल सामाजिक प्रदर्शन र आत्मसन्तुष्टिको साधन बनेका छन् ?

धर्म र पुण्यको सार केवल बाहिरी गतिविधिमा छैन। साँचो धर्म त आत्मा र आचरणबाट प्रकट हुन्छ। जबसम्म तीर्थयात्रुका मनमा लोभ, अहंकार, ईर्ष्या र स्वार्थको वास छ, तबसम्म तीर्थाटन केवल एक भौतिक भ्रमण बनिरहन्छ—जसले न त आत्मालाई शुद्ध पार्छ, न त जीवनलाई परिवर्तन गर्छ।
धार्मिक स्थलहरू केवल पूजा, दर्शन वा स्नान गर्ने स्थान होइनन्। ती स्थलहरू आत्मपरिक्षण, आत्मशुद्धि र चरित्र निर्माणका लागि अवसर हुन्। तीर्थमा पुग्दा यदि हामी कुनै गरिब, असक्त वा पीडितप्रति करुणा प्रकट गर्न सक्दैनौं, यदि हाम्रो व्यवहार अझै कठोर, घमण्डी वा स्वार्थी छ भने, त्यो यात्रा असफल हो।
धर्म त व्यवहारमा झल्किनु पर्छ—न कि केवल फोटोमा। हाम्रो समाजमा धार्मिकता प्रायः देखावटी बनेको छ—जहाँ धर्मका नाममा ठूलो हुल, ठूला अनुष्ठान, महँगो पूजापाठ त हुन्छ, तर मनको विकार हटाउने प्रयास हुँदैन।
यो धर्म होइन, यो त केवल आवरण हो—जसको भित्र अध्यात्म छैन, केवल प्रदर्शन छ। साँचो पुण्य त तब कमाइन्छ जब यात्रा बाहिरी मात्र नभएर आन्तरिक रूपमा पनि गरिन्छ। जब मनभित्र करुणा, नम्रता, सेवा र प्रेमको भावना लिएर पवित्र स्थलमा पुगिन्छ, तब त्यो यात्रा आत्मिक उन्नतिको साधन बन्छ। यस्तो यात्रा जीवन परिवर्तन गर्ने प्रेरणादायी मोड बन्न सक्छ—जहाँ केवल देहले होइन, आत्माले यात्रा गर्छ।
धर्मको सार बुझ्न, र पुण्य कमाउन हामीले आफ्नै मनको शुद्धता र व्यवहारको सुधार गर्नुपर्छ। बाहिरी यात्रा त माध्यम मात्र हो; साँचो तीर्थ भने हाम्रो हृदयमै लुकेको हुन्छ। त्यो हृदय शुद्ध भयो भने, संसारका प्रत्येक स्थानहरु तीर्थ बनिदिन्छन।
