निर्जीव सरह हुँदापनि सुदूरका अपाङ्गताकाे अधिकार कस्ले हेर्ने ?

बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका मिलन बोहोरा थला परेको झन्डै १८ वर्ष भयो । उनी जन्मजात अपाङ्गता भएका व्यक्ति हुन । पछिल्लो समय उनको अवस्था निर्जीव सरह भएको छ । 

अहिले उनी न बोल्न सक्छन, न त कतै हिँड्डुल गर्न । न आफैँ खान तथा दिसापिसाब गर्न नै सक्छन् । उनको मानसिक तथा शारीरिक अवस्था निकै कमजोर भएकाले अहिले स्याहारसुसार आवश्यक छ । सरकारले पूर्ण अशक्त अपाङ्गताका लागि रातो परिचयपत्र दिने गरेको छ ।  रातो कार्ड भएकाले महिनाको चार हजार रुपियाँ पाउने गरेका छन् ।

त्यो रकमले अपाङ्गता भएकाको गाँस, बास र कपासका लागि पुग्दैन । उनीहरूलाई खानासँगै स्याहारसुसारको निकै आवश्यकता छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिए पनि दुर्गम बस्तीका अपाङ्गता भएकाहरू भने मृत्युको पर्खाइमा बस्दै आएका छन् । 

यहाँका अधिकांश गाउँबस्ती पाखो र भिरालो ठाउँमा छन् । यहाँ अपाङ्गता भएकालाई खान, बस्न र दैनिक आउजाउमा समेत निकै समस्या छ । बुढीनन्दा नगरपालिका–१० का १८ वर्षीय मिलन बोहोरा यसैको उदाहरण हुन । उनी २०६३ सालमा जन्मेका थिए । परिवारले ऋण जोहो गरेर उपचार गरे पनि अहिलेसम्म उनको अवस्थामा कुनै परिवर्तन नआएको बुवा कुम्भ बोहोराले बताए ।

उनले भने, “मेरो छोरो जन्मँदै अपाङ्गता भएको हो । सानैदेखि अहिलेसम्म हामीले बसाए बस्छ, सुताए सुत्छ । घरमा कोही नभएका बेला शरीरमै दिसापिसाब गरिराख्छ ।” अहिले १२ सबलाङ्ग पाल्नुभन्दा यो एकल अपाङ्गतालाई पाल्नु निकै सकस भएको बोहोराले बताए।

स्थानीय तहमार्फत अपाङ्गता पहिचान भएका बालबालिकाका लागि आवधिक रूपमा अपाङ्गताको अवस्था मूल्याङ्कन, सेवासुविधा पुनरवलोकन, आवश्यक थेरापीलगायत अन्य सेवाको समेत व्यवस्था गर्ने ऐनमा छ । तर, यहाँका दुरदराजका गाउँबस्तीका भने अपाङ्गता भएकाको अवस्था निकै दयनीय छ । बाजुरामा एक हजार ३८६ जना अपाङ्गता भएका व्यक्ती रहेका छन् । गाेरखापत्र 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.