सुदूरपहाडकाे भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ । 

यो सडकखण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रुपियाँ लागतको छवटा ठेक्का सम्झौता भएपनि हालसम्म कामको सुरुवात नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । नेपालीको महान चाड दसैँतिहार आउँदासम्म यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सुरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिए।

उनका अनुसार यस सडकखण्डको गैरा–अनारखोली खण्डमा पहिले पनि ठेक्का सम्झौता भएका थिए । ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राखी हाल नयाँ ठेक्का सम्झौता गरिएका हुन् । नयाँ ठेक्का सम्झौता गरिएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको छैन । गैरा–हगुल्टे, भातकाँडा–साहुखर्क, स्याउले–अनारखोलीसम्म तीन वटा खण्डमा ठेक्का भएका हुन् । 

उनका अनुसार यी तीन वटै सडकखण्ड निकै बिग्रिएका छन । बिग्रिएका सबै खण्डमा खाल्टाखुल्टी टाल्ने र त्यसमाथि एक ‘रियाप लेयर’ हाल्ने गरेर ठेक्का सम्झौता गरिएको छ । यसै गरी कैलाली जिल्लाको फल्टुडेदेखि बैतडीको अनारखोली बजारसम्मको सडकखण्डमा परेका खाल्टाखुल्टी टाल्न जय गणेश निर्माण सेवासँग ३२ लाख रुपियाँ, फल्टुडे–गैर खण्डका खाल्टाखुल्टी टाल्न ६८ लाख र गैरा–स्याउले सडकखण्डका खाल्टाखुल्टी टाल्न ७० लाख रुपियाँ बराबरका थप तीन गरेर नयाँ ठेक्का सम्झौता पनि भएको सूचना अधिकारी जैसीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.