डडेलधुरा । उग्रतारा–मेलौली सडकमा पर्ने बसाना गाडमा मोटरेबल पुल निर्माण नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । सडक कालोपत्रे भए पनि गाडमा पुल बन्न नसक्दा बर्खायाममा आवतजावतमा समस्या भएको हो ।
डडेलधुराको उग्रतारा मन्दिरदेखि बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली भगवती मन्दिरसम्म जोड्ने उग्रतारा–मेलौली सडकखण्ड निर्माण सुरु भएको करिब चार दशक बितेको छ । अजयमेरु गाउँपालिकाका विभिन्न वडा जोड्दै तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दुरीको यो सडक २०४२ सालमा निर्माण सुरु भएको थियो । यतिका वर्ष बित्दा पनि जम्मा १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
खोलामा पुल नहुँदा निकै सास्ती हुने गरेको छ । अटोरिक्सा चलाउँदै आएका नवराज भट्टले गाडमा पुल नहुँदा निकै समस्या भएको बताए । प्रदेश सरकार धनगढीका भित्रि सडक मर्मतलाई बहुवर्षिय ठेक्का लगाउन्छ तर एक जिल्लाबाट अर्काे जिल्ला जाेडने सडक बर्षाैंदेखि अलपत्र रहेकाे भन्दै स्थानीयले गुनासाे गरेका छन् ।
यता पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावलले यस सडकलाई थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्कामा लैजाने योजना भएपनि अर्थ मन्त्रालयले स्रोतमा सहमति नदिएपछि पुल निर्माणको योजना अगाडि बढ्न नसकेको बताए ।
यस सडकखण्ड अन्तर्गत नौलाकोट गाडमा भने पुल बनेको छ । सुर्नया नदी र अन्य गाडमा भने पुल बन्न सकेको छैन । उग्रतारादेखि ९६ किलोमिटर लामो दुरीको सडक निर्माण गर्ने कार्य जारी छ । उग्रतारा मन्दिरदेखि चमडासम्म सडक कालोपत्रे भइसकेको छ भने बैतडी खण्डमा पनि मेलौलीदेखि सुर्नया नदीको माथिसम्म कालोपत्रे भएको छ ।