धनगढी । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ। शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन्।
हिजो बेलुकादेखि हराएका उनी आज बिहान घर नजिकैको जंगलमा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीका अनुसार उपचारका लागि उनलाई डडेलधुरा अस्पताल पुराएकामा अस्पतालले धनगढी रेफर गरिएको थियो। धनगढीमा उपचारकै क्रममा ओभरसियर भट्टको मृत्यु भएको बताईएकाे छ।
सब ओभरसियर रहेका भट्ट निर्माण व्यवसायी समेत हुन्। निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए। उनले आर्थिक कारणले हुन सक्ने मानसिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको हुन सक्ने जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव अहिले डडेलधुरा ल्याउने आफन्तले जनाएका छन्।