शेरबहादुर सार्की
बाजुरा । गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो ।
जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ । सार्की, लुहार, विक र सुनारका पुरानादेखि नयाँ पुस्ताले समेत नेपाली, गन्धर्व, वादीका हातको पानीसमेत नखाने गरेको बुढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीले बताए । उहाँले भने, “विवाह र अन्य चाडपर्वमा नेपालीलाई बाजा बजाउन बोलाउने तर सार्वजनिक मठमन्दिर तथा निजी घरभित्र अझै उनीहरूले नेपाली परिवारलाई विभेद गर्दै आएका छन् ।”
कथित उपल्लो दलित जातिका अधिकांश धामीझाँक्री नेपाली र वादीको घर जान्छन् तर आफ्नो घरमा जाँदा शरीरमा पानी छिटा हालेर छोइछिटो गरेर मात्र प्रवेश गर्छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । सहरको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक छ ।
कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । बाजुराका नौ वटै स्थानीय निकायमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका दलित बसोबास गर्दै आएका छन् । यी सबै जाति दलितमा सूचीकृत छन् र राज्यले यी सबै दलित समुदायका लागि कोटा आरक्षण गरेको छ ।
गैरदलितले दलितमाथि गर्दै आएको जातीय विभेद अन्त्य गर्न लाग्नुको साटो उल्टै दलितले दलितमाथि यस्तो विभेद गर्नु कानुनी रूपमा गलत भएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा हरि नेपालीले बताए । उनले भने, “राज्यले हामी सबैलाई दलित भनेर सूचीकृृत गरेको छ तर हामीमा पनि एक जातले अर्को जातलाई विभेद गर्नु भनेको छुवाछुत प्रथालाई अपनाउँदै जानु हो ।” गोरखापत्र