‘असहमती पार्टीमा राख्छु तर, गठबन्धनका उम्मेदवारलाई जिताउन्छु’

पाँच वर्षको पूरै कार्यकाल सरकार चलाएर एउटा इतिहास रचेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट यसपालि संघ र प्रदेशको चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भए । सरकारको पाँच वर्षको उपलब्धिको जनपरीक्षण गर्न पनि माओवादीले भट्टलाई चुनावी प्रतिस्पर्धामा उतार्ने अनुमान गरिए पनि उनले टिकट नै पाएनन् । प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लाग्ने गरे पनि पाँच वर्षसम्म सरकारको नेतृत्व गर्दा खासै विवादमा नमुछिएका भट्ट उम्मेदवार बन्नबाट वञ्चित हुने अवस्था कसरी आयो ? टिकट वितरणमा असन्तुष्टि लगायतका विषयमा नयाँ पत्रिकाकर्मी तेजराज भट्टले मुख्यमन्त्री भट्टसँग गरेकाे कुराकानीको सम्पादित अंश:

पाँच वर्ष सरकार चलाएको इतिहास बनाउनुभयो । तर, तपाईंंलाई नै पार्टीले चुनावमा पठाएन नि !
हामीले पाँच वर्ष सरकार चलाउने कुरा मात्र होइन, अबको पाँच वर्षमा सुदूरपश्चिमको विकास कसरी गर्ने भन्ने कुराको खाकासमेत बनाएका छौँ । पञ्चवर्षीय योजना पास भइसकेको छ । गएको पाँच वर्ष र अबको पाँच वर्षमा सुदूरपश्चिमलाई यो ठाउँमा हामी पुर्‍याउन सक्छौँ भन्ने सरकारको भिजन छ । त्यसको नेतृत्व मैले गरेँ । यसलाई स्थापित गर्न सफल पनि भएका छौँ । आफ्नै सरकारको यो सफलतामा टेकेर पार्टी अगाडि बढ्नुपर्थ्याे।

किनकि लोकतन्त्रमा पार्टीहरू आफ्नो घोषणापत्र, नीति, कार्यक्रम लिएर जनताबीच जान्छन् र जनताको म्यान्डेटअनुसार सरकारमा बसेर काम गर्छन् । प्रतिबद्धताअनुसार सरकारले काम गरे/नगरेको मूल्यांकन गर्ने चुनावबाटै हो । तर, मूल्यांकन गर्ने अवस्थामा त्यसप्रकारको वातावरण, त्यसप्रकारको मौका र परिस्थित पार्टीले बनाउनुपर्ने थियो । त्यतापट्टि धेरै छलफल, विश्लेषण, कामको मूल्यांकन हुनुपर्ने थियो । हामीले के कुरा सही गर्‍याैं, के गर्न सकेनौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने विषयमा सरकारको नेतृत्व गरेका नाताले मसँग बढी छलफल हुनुपर्ने थियो । त्यो नहुँदा केही समस्या सिर्जना भएका हुन् । यद्यपि, टिकटको विषय पार्टी नेतृत्वको निर्णयको कुरा हो ।

तपार्ईंंको दाबी केमा थियो ?
पार्टीको सल्लाहमा डोटीबाट संघमा जानुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता थियो । यसका दुई कारण थिए– पहिलो, मैले पाँच वर्षसम्म प्रदेशमा काम गर्दै जाँदा के अनुभव भयो भने संघीयतालाई स्थापित गर्न अझै बढी काम हुनुपर्थ्याे। संघीय सदनबाट बन्नुपर्ने साझा कानुन, प्रहरी, कर्मचारी समायोजनका विषयमा हामीले जे भोग्यौँ, ती विषय राष्ट्रिय चर्चाको विषय बनाउन पनि त्यहाँ आवाज उठाउनुपर्छ भनेर संघमा जाने मेरो सोच थियो । दोस्रो कुरा, ०६४ सालदेखि लगातार चुनाव लड्दै आए पनि संघमा जाने मौका नपाएकाले पनि मैले त्यहाँ जाने इच्छा व्यक्त गरेको थिएँ । तर, गठबन्धनको कारण त्यो परिस्थिति बनेन । डोटीको संघीय सिट हाम्रो भागमा परेन । त्यो कसरी, किन हाम्रो भागमा परेन समीक्षाको विषय होला ।

संघ हाम्रो भागमा नपरेपछि पार्टी अध्यक्षले नै मलाई तपाईं प्रदेशमै जानोस् भन्नुभएको थियो । अध्यक्षले भनिसकेपछि मैले डोटीका केही साथीहरूसँग सामान्य सल्लाह गरेँ । प्रदेशमा मलाई अनिवार्य दिनुपर्छ, टिकट नभइहुँदैन भन्ने मेरो कहीँ पनि दाबी थिएन र त्यस्तो दाबी म कहिले गर्दिनँ पनि । तर, केन्द्रबाटै नेतृत्वले भनिसकेपछि सामान्य मानसिकता बनाएको थिएँ । मलाई प्रदेशमा जानुपर्छ किन भनियो ? किन रोकियो ? यसबारेमा म अहिले पनि अनभिज्ञ नै छु । प्रदेशमा जाने मेरो प्राथमिकता नै थिएन । मैले पार्टीको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वलाई मेरो पहिलो प्राथमिकता संघ नै हो, गठबन्धनले गर्दा संघ नपाएको अवस्थामा पार्टी नेतृत्वले जे निर्देशन दिन्छ त्यसलाई मानेर जान्छु भनेको पनि थिएँ । प्रदेशमा हुनुपर्छ भन्ने मेरो जिद्दी पनि थिएन । अध्यक्षले भनिसकेको अवस्थामा किन रोकियो भन्ने मलाई अहिले पनि जानकारी छैन ।

पार्टी अध्यक्षले नै प्रदेशमा जान भनेको भन्नुभयो । तर, अन्तिममा चुनावमै नजाने अवस्था कसरी बन्यो ?
मैले भनिसकेँ प्रदेशमा दोहोरिने चाहना थिएन । पार्टी नेतृत्वले भनेपछि सामान्य मानसिकता मात्र बनाएको थिएँ । म प्रदेशमा जाने भनेपछि पार्टीभित्रै केही साथीहरूलाई चित्त बुझेन । पाँच वर्षसम्म मुख्यमन्त्री चलाएको व्यक्ति फेरि त्यही पदमा आउँछ कि भन्ने प्रदेश नेतृत्वमा रहेका केही नेताको संकीर्ण मानसिकताले मेरो उम्मेदवारीबारे मिडिया र सामाजिक सञ्जालमा भ्रम छरियो । पार्टीको प्रदेशको नेतृत्व र प्रदेश नेतृत्वसँग जोडिएको केन्द्रको नेतृत्वबाट चलखेल भएको हुन सक्ने मैले महसुस गरेको छु । तर, मैले टिकट किन पाइनँ भन्नेमा मेरो कुनै असहमति छैन । मैले पाँच वर्षसम्म काम गरिसकेको र नेतृत्वले नै तल लड भनिसकेपछि त्यसलाई रोक्नुपर्ने बाध्यता कसरी आयो र त्यो किन भयो भन्ने मात्रै हो ।
 
प्रदेशको नेतृत्व भन्नाले कसलाई इंगित गर्नुभएको हो ? 
हाम्रो पार्टीको नीतिअनुसार प्रदेशको हकमा इन्चार्ज नै प्रदेशको नेतृत्व मानिन्छ । गत असोज १५ गते पार्टी अध्यक्षले मलाई प्रदेशमा जानोस् भन्नेबित्तिकै मेराविरुद्ध यहाँ चलखेल सुरु भयो । मुख्यमन्त्रीलाई तल आउन दिनुहुँदैन, मुख्यमन्त्री तल आयो भने फेरि मुख्यमन्त्री हुन्छ भनेर तलबाटै चलखेल भयो । त्यसले केन्द्रीय नेतृत्वलाई पनि प्रभावमा पारेको हुन सक्ने मलाई लाग्छ । पार्टी नेतृत्वले पनि अहिलेसम्म तपाईंलाई यो कारणले लड्न भनिएको थियो र यो कारणले रोकियो भन्ने स्पष्ट पारेको छैन ।

पाँच वर्ष सरकार चलाउँदा तपाईंले गरेका कामप्रति असन्तुष्ट भएर तपाईंको पार्टीले चुनावमा नपठाउने निर्णय गरेको हो कि ?
पार्टीभित्रका केही व्यक्तिको असन्तुष्टि हुन सक्छन् । तर, पार्टीको असन्तुष्टि होइन । यदि पार्टीको नै असन्तुष्टि हुन्थ्यो भने मलाई पाँच वर्षसम्म सरकारमा किन राख्थ्यो ? हिजो एमाले र माओवादीको संयुक्त सरकारको नेतृत्व गर्दा पनि मप्रति पार्टीको असन्तुष्टि आएन । त्यसपछि नेकपा भयो । तीन वर्षसम्म मैले नेकपाको दुईतिहाइको सरकारको नेतृत्व गरेँ, त्यस अवस्थामा पनि पार्टीगत रूपबाट असन्तुष्टि आएको थिएन, न केन्द्रको नेतृत्वमा असन्तुष्टि थियो । तर, प्रदेशमा पार्टीका केही व्यत्तिरू मप्रति सुरुदेखि नै असन्तुष्ट थिए । त्यो असन्तुष्टिको पछाडिको कारण मैले बारम्बार सार्वजनिक रूपमा भनेको पनि छु । मैले कुनै नेतालाई खुसी पार्न कहिल्यै सत्ताको दुरुपयोग गरिनँ । सत्ता र स्रोतको दुरुपयोग गरेर कुनै मान्छेको चित्त बुझाउने काम मैले गरिनँ । समग्र पार्टी असन्तुष्ट हुन्थ्यो भने पाँच वर्षसम्म मलाई राखिराख्नुपर्ने थिएन । हिजो दुई पार्टीको, त्यसपछि नेकपाको र अहिले तीन पार्टीको सरकारको नेतृत्व गर्ने मौका मलाई नदिनुपर्थ्याे।

अहिले मैले राम्रो काम गर्न नसकेको कारणले यसप्रकारको परिस्थिति आयो भनेर मेराविरुद्ध भ्रम फैलाउने, सामान्य मान्छेसँग दाँजेर मलाई अनावश्यक विवादमा तान्न खोजिएको मात्र हो । त्यसैले पार्टीको असन्तुष्टि होइन । केन्द्रीय नेतृत्व, खास गरेर श्रद्धेय अध्यक्षबाट मैले त्यस्तो कहिल्यै महसुस गरिनँ । मैले मुख्यमन्त्रीको शपथग्रहण गरेको केही समयदेखि नै पार्टीभित्र केही व्यक्तिले समयसमयमा असहज वातावरण बनाउन खोजे । त्यसका बाबजुद पनि पार्टी अध्यक्षको सहयोग र निर्देशनमा म पाँच वर्षसम्म सरकार चलाउन सफल भएँ ।

चुनावी प्रतिस्पर्धामा त हुनुहुन्न । निर्वाचन परिचालनमा तपाईंको पार्टीले तपाईंलाई के भूमिका दिएको छ ?
सरकार प्रमुख भएकाले पार्टीले अहिले मलाई त्यस्तो कुनै ठोस भूमिका दिएको छैन । मुख्यमन्त्रीकै हैसियतले म बसेको छु र सरकारकै भूमिकामा छु । तर, म पार्टीको केन्द्रीय सदस्य पनि भएकाले मेरो दायित्व र भूमिका पार्टीका उम्मेदवारलाई जिताउनमा रहन्छ । पार्टी चुनावमा होमिएको अवस्थामा मेरो दायित्व पनि पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउने नै हुन्छ । त्यहीअनुसार म मेरो ठाउँबाट भूमिका खेल्छु । मेरा आफ्ना असहमति पार्टीमै राख्छु र पार्टीले गरेको निर्णयलाई सहर्ष स्वीकार गरेर नै जान्छु ।

तपाईंले पाँच वर्षमा गरेका कामलार्ई तपाईंको पार्टीले चुनावमा कसरी लैजाँदै छ ?
पार्टी नेतृत्वको सरकारका उपलब्धिलाई पार्टीले संस्थागत रूपबाटै चुनावमा जनताबीच लैजानुपर्ने हो । एमालेका साथीहरू हिजो एमालेसहित र त्यसपछि नेकपाको समयमा आफूहरूसहित हुँदा सरकारले गरेका कामको प्रचार गर्ने र जस लिने काममा लागिरहेको देखिन्छ । माओवादीले झन् जस लिनुपर्थ्याे । तर, कताकता संकीर्ण भएजस्तो, खासगरेर पार्टीको मुख्य नेतृत्वमा बसेका केही साथीमा प्रदेश सरकारले गरेको कामको प्रचार गरे मुख्यमन्त्रीले जस पाउँछ कि सोचेजस्तो मैले पाएको छु । त्यस्तो मान्न जरुरी छैन । किनभने माओवादीको नेतृत्वमा भएको कामको जस माओवादीले पाउनैपर्छ । हामीले गरेका सकारात्मक कामको प्रचार र गर्न नसकेका कामलार्ई निरन्तरता दिने प्रतिबद्धतासहित जनताको बीचमा जानु नै माओवादी र गठबन्धन दुवैलाई फाइदा हुन्छ । तर, पार्टीभित्रका केही नेताको संकीर्ण मानसिकताले त्यो हुन सकेको छैन ।

तपाईंले भनेजस्तै आफ्नै पार्टीको नेतृत्वको सरकारले गरेका कामलार्ई जनतामा लैजान नसक्दा चुनावमा यसको असर कस्तो पर्ला ?
चुनाव जित्ने पार्टी सरकारमा जान्छ । सरकारले गरेका राम्रा कामको प्रचार गरेर सो पार्टीले फेरि चुनाव जित्छ । लोकतन्त्रमा सम्भवतः यो संसारभरिकै अभ्यास हो । तर, हाम्रो पार्टीमा त्यो खालको अभ्यास व्यवस्थित रूपबाट हुन सकेको छैन । गणतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले जे नयाँ काम गर्नुभएको थियो, त्यसलाई संस्थागत प्रचार गर्न नसक्दा ०७० को चुनावमा अपेक्षित सफलता पाएनौँ ।

त्यसपछि पनि हाम्रो पार्टीको नेतृत्वमा सरकार बने । ती सरकारले एकदमै नयाँ कामहरू पनि गरे । तर, त्यसलाई जनताबीच व्यवस्थित रूपबाट ल्याउन नसक्दा केही समस्या सिर्जना भए । अहिले पनि हाम्रो पार्टीको नेतृत्वमा सुदूरपश्चिम र अन्य प्रदेश सरकारले गरेका राम्रा कामलार्ई जनतामा लान सकिएको छैन । त्यसलाई संस्थागत गरेर लैजाने समय अझै पनि हामीसँग बाँकी छ । पार्टीले त्यसमा ध्यान दिन जरुरी छ । कुनै व्यक्तिविशेषको रिसले आफ्नो सरकारका कामलार्ई जनतामा नलैजाँदा त्यसको घाटा पार्टीलाई नै हुन्छ ।

टिकट वितरणका वेला तपाईंका असन्तुष्टि पनि सार्वजनिक भए नि !
कुनै विषयमा मेरो असन्तुष्टि थिएन । मैले अघि पनि भनेँ– संघ मेरो प्राथमिकतामा हो । संघ भागमा परेन भने पार्टीले जे निर्णय गर्छ त्यो स्वीकार्य हुन्छ भनेको थिएँ । मलाई यहाँ जसरी पनि चुनाव लडाउनुपर्छ भनेर नेतृत्वलाई कहिल्यै मेरो दबाब पनि थिएन, न नेतृत्वसँग हारगुहार गरेको थिएँ । केन्द्रको नेतृत्वले नै तपाईं तल जाने तयारी गर्नोस् भनेपछि सामान्य छलफलको प्रक्रिया बढाएको हो । पछि किन हुन सकेन, त्यसमा मेरो कुनै गुनासो छैन । तर, मलाई आँच आउने गरी घटनाक्रमहरू सिर्जना गरियो । जहाँ पनि म आफैँ लड्न खोजेजस्तो पारियो । कसैलाई मुख्यमन्त्री बन्नु थियो होला, म आएपछि मुख्यमन्त्रीका कोही आकांक्षीलाई आफूले पाउँदिनँ भन्ने डर पनि थियो होला । यद्यपि, टिकट नपाएकोमा मेरो असन्तुष्टि र आपत्ति होइन, मिथ्या प्रचारमा आपत्ति हो ।

तपाईं आफैँले चाहिँ आफ्नो पाँच वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हाम्रो देशको राजनीतिक, प्रशासनिक र व्यवस्थामा जुन परिवर्तन आयो, त्यसलाई संस्थागत गर्ने र जनताबीच स्थापित गर्ने हाम्रो पहिलो प्राथमिकता थियो । यसलाई स्थापित गर्न, संस्थागत गर्न र यसको जग बसाल्न हामी सफल भएका छौँ । व्यवस्थापन, कानुन निर्माणसँगै हाम्रो प्रदेशको अबको मार्गदर्शन के हुने, हामी के आधारमा, कुन कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्न सक्छौँ भनेर तय गर्‍याैं र त्यसलाई कार्यान्वयनमा लैजाने कुरालाई अगाडि बढायौँ । यो सँगसँगै कर्मचारी समायोजन, जिल्लामा प्रदेश सरकारका निकाय, कार्यालयहरू व्यवस्थापनलाई सँगसँगै लिएर गयौँ । यी काम कार्यान्वयन गर्दै जाने क्रममा सुरुवाती चरणमा केही समस्या सिर्जना भए । तर, पछिल्लो चरणमा मूल रूपमा संघीयतालाई स्थापित गर्ने, संस्थागत विकास गर्ने, संघीयताको जग बसाल्ने काम तथा स्थिर र स्थायी सरकार सञ्चालन गर्नमा हामी सफल भएको मैले महसुस गरेको छु ।

सँगै विकास निर्माणका काम पनि अघि बढाएका छौँ । सडक निर्माणमा हामीले बढी जोड दियौँ । स्वास्थ्यका क्षेत्रमा विगतको तुलनामा आमूल परिवर्तन भएको छ । कृषि, पर्यटन, भौतिक संरचना निर्माण तथा नीति र कानुन निर्माणमा हामी सफल भएका छौँ । कार्यकाल कस्तो रह्यो भन्ने विषय आमनागरिक, बौद्धिक वर्ग र समाजले कसरी बुझिराखेको छ भन्ने कुरा एउटा होला, तर म आफैँ पाँचवर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा सफल नै भएको ठान्छु । केही कुराको जग बसालिएको छ, केही कुरा परिणाममुखी भएका छन् र केही कुरा सुरुवात गरेर त्यसको सकारात्मक सन्देश जनतामा पुर्‍याउन सफल भएका छौँ । नयाँपत्रिका अनलाईनबाट

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.