कञ्चनपुरमा कोरोना महामारी पछिको उल्लासमय दशैं

कञ्चनपुर । कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन्। यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैंको चहलपहल बढेको छ।  रोजगारीका लागि भारतमा रहेका नेपालीको पश्चिमी नाका गड्डा चौकीमा भीड लागेको छ। महेन्द्रनगरबाट दसैँ मनाउन जन्मथलो फर्किनेको बसपार्कमा भीड छ। बजारमा किनमेल गर्नेको चहलपहल पनि उत्तिकै छ।

बैतडीको देहिमाण्डौका कविराज भट्ट दसैँ मनाउन दुई वर्षपछि जन्मथलो फर्किए। “हरेक वर्ष दसैँ मनाउन म जन्मघर बैतडी जाने गर्थे कोरोना महामारीका कारण दुई वर्ष जान पाइएन” उनले भने, “यस पटक छोराछोरी परिवारसहित दसैँ मनाउन जन्मघर जाँदैछु।” उनले विगतका वर्षमा जस्तो त्रासका बीच चाडपर्व मनाउनुपर्ने बाध्यता यसपटक नरहेको बताए।

“विगतमा बजारमा सरसामान किन्न जान डरै हुन्थ्यो, आफन्तकहाँ  टीकाटालो गर्न पनि त्रास हुन्थ्यो”, उनले भने, “कोरोनाका कारण  मान्यजनको हातबाट जमरा र आशीर्वाद ग्रहण नगरेको पनि दुई वर्ष भयो।” उनले यस पटकको दसैँ उल्लासमय रहेकाले भव्यताका साथ मनाउने बताए।

भीमदत्त नगरपालिका–६ ऐठपुरका सन्तोष पन्तले पनि कोरोना महामारीपछि साथी भाइसँग पिङ खेल्न र बजार घुमफिर गर्न पाएकामा खुशी छन्। महेन्द्रनगरस्थित कञ्चन समाजले हालेको पिङ खेल्न अहिले घुइँचो लागेको छ। “महेन्द्रनगर नजिकमा अरू ठाउँमा पिङ देख्न पाइएन यहाँ कञ्चन समाजले पिङ हालेको छ साथीहरूसँगै पिङ खेल्न आएको छु।” उनले भने, “दुई वर्ष त घरभित्रै थुनियो अहिले दसैंको रौनक छ सबैतिर।”

पछिल्लो समय दसैंको रौनकता भने घ्टदै गएको बताए।  “पहिला–पहिला हामीलाई दसैँ आउन महिनादिन अगाडिदेखि रौनक छाइसक्थ्यो।” उनले भने, “पिङ हाल्ने, चङ्गा उडाउने, नयाँ लुगा किन्ने क्रियाकलापले रमाइलो हुन्थ्यो।” त्यसैगरी काठमाडौँबाट दसैँ मनाउन घर फर्किएका दीपेश कार्कीले पनि यस वर्षको दसैँ उल्लासमय रहेको बताए। “कोरोना पछिको यो दसैँ विशेष हुन्छ किनकि कोरोनाका कारणले आफन्त एक ठाउँमा भेला हुन पाएका थिएनौँ”, उनले भने, “यस वर्ष भने आफन्तहरुको भेटघाटले पनि यो दसैँ विशेष उल्लासमय हुन्छ।”

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.