यसपालिकाे दशैंमा महंगीको मार

धनगढी । हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैं । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिँदैन । किनमेलमा पनि तडकभडक छैन ।

यतिबेला भ्याइँनभ्याइँ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । ‘एक त सबै सामान महंगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन,’ धनगढी उपनगरपालिका–३ चाैराहाकी खाद्यान्न व्यवसायी सीता अर्यालले भनिन्, ‘अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा २ कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले ५ किलो मात्रै किन्छन् । यो सबै सबै सामान महंगिएको र पैसा नभएकै कारण हो,’ व्यवसायी अर्यालले थपिन् ।

बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैं आर्थिक संकटले झेलिएको छ । कोरोना भाइरस महामारीपछिको पहिलो दशैं उपभोक्तालाई निकै महंगो पर्ने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै जाँदा उपभोक्ता मूल्यबृद्धिको चपेटामा परेका छन् ।चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्यवृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासुको मूल्य बढेकाले दशैं महंगिएको छ । अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको अर्का व्यवसायी राजेश गप्ताले बताए ।

सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन सकिरहेका छैनन् । उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ । दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउली लगायत तरकारीको मूल्य बढेको छ । ‘बच्चालाई नयाँ कपडा किनिदिनै पर्‍यो, पहिलाका दशैंमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन,’ बालबच्चालाई कपडा किन्न लागेकी जानकी भण्डारीले भनिन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.