धनगढी । नेपालकाे संविधानअनुसार राजनीतिक दलहरुले अपाङ्गता भएका ब्यक्तिलाई अवसर नदिएकाे भन्दै कैलालीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुले दलहरुकाे ध्यानाकर्षण गरेका छन् । नेत्रहिन युवा संघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावलको अगुवाईमा बुधवार अपाङ्गताकाे क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनिधहरुले कैलालीका राजनीतिक दलहरुलाई ध्यनाकर्षण पत्र बुझाएका हुन् ।
नेपालको संबिधानको धारा १७६ को उपधारा (७) बमोजिम प्रदेशसभा निर्बाचनमा “राजनैतिक दलले उम्मेदवारी दिंदा अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने छ” भन्ने उल्लेख छ । त्यसै गरि प्रदेश सभाको समानुपातिक निर्बाचन प्रणालीको लागि बन्द सुची तयार गर्दा प्रदेशसभा सदस्य निर्बाचन ऐन २०७४ को दफा (२८) उपदफा (६) मा “ दलले उम्मेदवारको बन्द सुची तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई समेत समाबेश गर्नु पर्नेछ” भन्ने कानुनी व्यवस्था भएकाले दलहरुले कानून उलंघन गर्न नहुने पत्रमा उल्लेख छ ।
त्यसैगरी प्रदेशसभा निर्बाचन नियमावली २०७४ नियम १४ को उपनियम (४) मा भएको व्यवस्था अनुसार “ उम्मेदवार बन्दसुची पेश गर्दा अपाङ्गता भएको व्यक्तिको नाम समेत समाबेश गर्नु पर्नेछ” भन्ने उल्लेख छ । त्यसै गरि प्रदेश सभा सदस्य समानुपातिकमा पनि अपाङ्गता भयका व्यक्तिहरुको सुनिश्चितता हुनुपर्ने, पार्टीका घोषणा पत्र, पार्टीका कार्यालयहरु अपाङ्गतामैत्री हुनुपर्ने कुरा उल्लेख गरेर नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका दलकाे कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएकाे अपाङ्गता भएका ब्यक्तिहरुकाे साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदले जानकारी दिए ।
संविधान निर्माण गरी लागु गर्ने दलहरुबाट नै कार्यान्वयमा कञ्जुसाई भैइरहेकाे भन्दै अपाङ्गता अभियन्ता अर्जुन रावलले दलहरु संविधान विपरीत गए न्यायालयको ढोका घचघच्याउने चेतावनी दिए । दलहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रीया खडका, अपाङ्गता अधिकारकर्मी एवं पत्रकार भवानी ऐर, हिमाल जाेशी, कमला दहाल लगायत दर्जन बढी अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेकाे थियाे ।