धनगढी । गाैरा पर्वकाे आज मुख्य दिन गाैरामहेश्वरकाे विवहा कार्यक्रम सम्पन्न हुने गर्दछ । सत्य युगमा हिमालय पुत्री पार्वती (गाैरा)ले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि विवाह भएर मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन शुरु गरिएको हो ।
यस पर्वअन्तरगत हिजाे गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा सौँ, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरियाे। यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । आज हुने विवाह समाराेहमा दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा गाैरा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ ।
गारा पर्व मनाउने मानसखण्ड क्षेत्रका समुदायले यो दिनमा देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । यस क्षेत्रबाट बसाई सरेका सुदूरपश्चिमेलीहरु अहिले देशविदेशमा पनि गाैरा पर्व मनाउने गरेकाे पाईन्छ ।