धनगढी । थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वकासाथ यो पर्व मनाउने गर्दछन् । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको अग्रासन आफूले खाने चलन छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।
यही अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वको थारु समुदायकाे बाहुल्यता रहेका कैलाली-कञ्चनपुरमा सार्वजनिक विदा दिएकाे छ । यसै अवसरमा मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश दिंदै थारु समुदायकाे माैलिक पर्व अतवारीले समुदायीक सदभाव र मेलमिलापका साथै भातृत्वकाे सम्बन्ध उच्च राख्न प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
स्वास्थ्य सम्बन्धिका मापदण्ड अपनाई यस्ता माैलिक पर्वलाई खुशीयालीका साथ मनाउन पनि आग्रह गरेका छन् ।