धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष बिक्रम शाहीले पार्टी परित्याग गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘ २०५४ सालमा बामदेवले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ “भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुर्नगठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछि लाग्नेमा म पनि थिए।
पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो। त्यसबाफत पछुतो र आत्मग्लानी भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’
शाही नेकपा एमालेबाट नेकपा (एस)मा गएका थिए। त्यसपछि उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर राजनीतिमा निष्क्रिय भएपछि उनलाई हटाएर डोटीका हर्क सिंहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। उनले त्यही झाेकमा पार्टी परित्याग गरेकाे हुनसक्ने उनकाे भनाई छ ।