लागुऔषध बेच्न हिडेका र किन्न पर्खेका गरी ६ जना पक्राउ

धनगढी । कञ्चनपुरको बेलौरीमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ गुलरीयाका २४ वर्षीय गणेश भण्डारी र अछामको साँफेबगर नगरपालिका-७ रिडीकोटका २२ वर्षीय दिपेन्द्र केसी रहेका छन्।

उनीहरुको साथबाट १४ दशमलव ७५ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुवै जनालाई बेलौरी बजारबाट सुपप्र ०१ ००८ प ८८७८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको बताइएको छ।

उनीहरुको साथबाट बरामद गरिएको लागुऔष आफूहरुका लागि नभई अरुले नै मगाएर ल्याएको बताएपछि धनगढीबाट थप ४ जनालाई पक्राउ गरिएको बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। धनगढीस्थित बसपार्कबाट कृष्णपुर-४ का २५ वर्षीय रोशन ऐर, साँफेबगर-४ का २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय विक्रम कुँवर र २३ वर्षीय क्षितिज बुढालाई पक्राउ गरिएको उनले बताए।

उनीहरुको साथबाट नचिनिएको लागुऔषध जस्तो अन्य ३० ट्याबलेट पनि पाइएको प्रहरी निरीक्षक भण्डारीले बताए। उनका अनुसार बेलौरीमा समातिएका भण्डारी र केसीले भारतबाट लागुऔषध ल्याएका हुन्। पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.