अवैध काठ लुकाएको पाइएपछि व्यवसायी पक्राउ

धनगढी। आफ्नो खेतमा अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६, जालीका करन चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा मंगलबार काठ बरामद गरेको थियो । 

८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय तारानगरका प्रमुख जिसन कार्कीले बताए । जेसीबीले खनेर जमिनमुनिबाट काठ बरामद गरिएको उनले बताए । चौधरीले उक्त काठ आफूले पुरेको स्वीकार गरेका सव डिभिजनले जनाएको छ । काठ लुकाइएको स्थान पुगेको वनको टोलीसँगै जाली सामुदायिक वनका पदाधिकारी, स्थानीयसामु चौधरीले आफूले काठ पुरेको स्वीकारेका थिए ।

काठ बरामद गरिएपछि चौधरीलाई पक्राउ गरेर कारबाही प्रकृया अगाडि बढाइएको डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख पूर्णशंकर यादवले बताए । जालीका स्थानीयले भने काठ लुकाएको अरु क्षेत्रमा वनको टोलीले उत्खनन् नगरेको आरोप लगाएका छन् ।

‘चौधरीले भरान गर्ने नाममा आफ्नो खेतमा माटोका ठूलाठूला ढिस्का बनाएका छन् । त्योभित्र ठूलो परिणाममा काठ लुकाइएको छ ।’ नाम उल्लेख गर्न नचाहेका एक जना स्थानीयले भने, ‘तर त्यहाँ वनको टोलीले जेसीबीले माटो उधिनेर हेरेन ।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.