धनगढी । धनगढी जेसीजले विगतमा झै आउदाे नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा चैत २६ गते धनगढीलाई दाैडाउने भएकाे छ । शुक्रबार धनगढी जेसिजले पत्रकार सम्मेलन गर्दै धनगढी हाफ म्याराथुन आयोजना गरेर प्रतिकात्मकरुपमा धनगढीलाई दाैडाउने जानकारी दिएकाे हाे ।
‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ यस वर्ष ‘मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथुन’ नाम दिइएकाे आयोजनाले बताएकाे छ । प्रतियोगिताका मुल संयोजक महेश्वर ओझाले धनगढी हाफ म्याराथुनलाई भव्य र सभ्य तवरले सम्पन्न गर्नका लागि तयारी भइरहेको बताए। यसैबीच, धनगढी हाप म्याराथुनलाई सुदूरपश्चिम खेलकुद परिषद्ले मुख्य प्रायोजन गरेको उनले बताए।
जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक धनगढी जेसीजका अध्यक्ष भुवन पाण्डेले बताए। खुल्ला दौड प्रतियोगितामा २१.५ किलोमिटरको रहने छ भने सो प्रतियोगितामा प्रथम हुनेलाई ५५हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिईने आयोजकले जनाएको छ।
यस्तै कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ। जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिईने आयोजकले जनाएको छ। ट्राई सार्ईकलमा सहभागी सबै सम्मानसहित पुरस्कार दिइनेछ।