ठेक्कापट्टामा संलग्न मान्छे स्थानीय तहमा उम्मेदवार बन्न नपाउने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्नलाई उम्मेदवार बन्न रोक लगाउने गरी कानुनी व्यवस्था गरेको छ । आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै स्थानीय तहका ठेक्कापट्टामा संलग्नलाई उम्मेदवार बन्न रोक लगाएको हो ।

गत स्थानीय निर्वाचनमा ठेकेदारहरू जनप्रतिनिधि चयन भएपछि ‘राजनीतिक भ्रष्टाचार’ मौलाएकाले आयोगले यस्तो प्रावधान ल्याएको हो । आयोगले स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । उम्मेदवार बन्ने व्यक्तिले गर्नुपर्ने विभिन्न १९ घोषणामध्ये स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको पनि घोषणा गर्नुपर्ने हुन्छ ।

स्वघोषणाको बुँदा नम्बर ‘ठ’ मा ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल–अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको’ उल्लेख छ ।स्थानीय तहमा ठेक्कापट्टामा संलग्न व्यक्तिले उम्मेदवार बन्न नपाउने व्यवस्था निर्वाचनमा स्वच्छता, निष्पक्षताका साथै स्वार्थ बाझिने काम नहोस् भनेर गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा भएर यस्तो निर्णय गरिएको होला, कोही मान्छे पालिकामा ठेक्कापट्टा गर्दै छ र उसले उम्मेदवारी दियो भने त्यही पालिकामा उसको ठेक्का पर्ला, त्यो भयो भने स्वार्थ बाझिएला भन्ने मक्सदले आयोगले यस्तो निर्णय गरेको होला,’ उनले भने, ‘निर्वाचन स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले यी कुरा गरेको हो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.