सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ। गठबन्धनका दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोहीअनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी बनाउन लागिएको हो।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। वैशाख ३० मा स्थानीय तहको निर्वाचन तय भएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए। तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताएका थिए । प्रचण्डले आजको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए ।