सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णायक हुने

काठमाडौं, ५ फागुन। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ । माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ।

नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।

सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।सत्ता गठबन्धनको आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.