एमसीसी बारेमा भीम रावलद्वारा ओलीसँग पार्टीको स्पष्ट धारणा माग
काठमाण्डाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको बारेमा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको स्पष्ट धारणा माग गरेका छन् । सोमबार बसेकाे एमाले संसदीय दलको बैठकमा नेता रावलले अध्यक्ष ओलीसमक्ष लिखित रूपमा आफ्नाे मत पेश गरेर एमसिसी सम्झौताबारे स्पष्ट धारणा माग गरेका हुन् ।
‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ। गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’ नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ ।
आजको बैठकले गठबन्धनको एकीकृत धारणा नआउँदासम्म नेकपा एमाले मौन बस्ने निर्णय गरेको छ ।